आरआर क्याम्पसमा विद्यार्थीले कुटे शिक्षक/ पढाइ बन्द गर्ने शिक्षकहरुको निर्णय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २४२ पटक पढिएको

काठमाण्डूको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकमाथि हातपात गरेका छन् । आरआरका विद्यार्थी कुबेर जेठाराले सामाजिक कार्य पढाउने शिक्षक प्रकाश पुडासैनीमाथि मंगलबार बिहान कुटपिट गरेका हुन् ।
आन्तरिक परीक्षा भइरहेका बेला शिक्षकसँग विद्यार्थीको भनाभन भएको थियो । उनीहरु बीच विवाद भएपछि सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो ।
उक्त छलफलमा विवाद झन् चर्किदा विद्यार्थी जेठाराले शिक्षक पुडासैनीमाथि कुटपिट गरेका हुन् । शिक्षकलाई कुट्दा पुडासैनी आफ्नो क्याम्पसको शिक्षक हो भन्ने थाहा नपाएको जेठाराले बताएका छन् । जेठारा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शीको भनाई छ । पुडासैनी आफैं परीक्षामा गार्ड बसेका थिए । विवादपछि परीक्षा स्थगित गरिएको छ ।
अन्य शिक्षकहरुले त्यही बेला जेठारालाई पक्राउ गरे पनि शौचालय जान्छु भनी हिँडेका जेठारा अहिले फरार छन् ।
घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ । शिक्षकमाथि हातपात गर्ने विद्यार्थीलाई कारबाही गर्न आरआर क्याम्पसका शिक्षकले माग गरेका छन् ।
यसैबीच उक्त घटनाको विरोधमा आरआर क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका छन् । क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
उनीहरुले शैक्षिक स्थलमा प्राध्यापकहरुनै असुरक्षित हुने अवस्था रहेसम्म र विद्यार्थीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने जनाएका छन् । विद्यार्थीबाट कुटिएर घाइते भएका प्राध्यापकको उपचार गर्न पनि उनीहरुले माग गरेका छन् ।