हुम्लामा अन्तरजातीय विवाह गरेका युवक एकहप्तादेखि बेपत्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३४१ पटक पढिएको
अन्तरजातीयको युवतिसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता देखि बेपत्ता भएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका परिवारले दाबि गरेको छ

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेका थिए । परिवारका अनुसार उनीहरुको विवाहलाई अस्विकार गर्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि वेपत्ता पारेका र घरमा समेत तोडफोड गरेका छन् ।
गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार राति घरपरिवारलाई समेत निर्घातरूपमा कुटपिट गरेको बुवा धनजय कामीले राससलाई बताएको छ ।
राससका अनुसार बुवा कामीले भने, ‘अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन।’ खै छोरालाई कुन कर्णाली नदीमा फालेहोलान् अत्तोपत्तो छैन।’
अन्तरजातीय भएकै कारण उनीहरुले भागी विवाह गरेका र माइती पक्षको धम्की पछि छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएको उनको भनाई छ । हुम्ला प्रहरीका अनुसार युवती सम्पर्कमा आएको र युवक अहिलेसम्म वेपत्ता नै छन् । ‘घटनाको जानकारी पाउनासाथ प्रहरी परिचालन भइसकेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले पनि प्रहरी परिचालन गरिसकेको छ ।
हुम्लाकाप्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझ्ने र आवश्यक अनुसुन्धान भइरहेकाले युवती पक्षको बुवालाई प्रहरीले अनुसुन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
केटी पक्षले छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ ।