म्यान्मार जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२९ पटक पढिएको
म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । सार्वजनिक विवरण अनुसार जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको छ । मृतकहरु सबै पुरुष हुन् ।
सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियाे । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएका छन् ।
मध्य म्यान्मारमा पर्ने विपक्षीहरूको बलियो पकड भएको सगाइन जिल्लाको कानी नगरमा गत जुलाईमा चारवटा छुट्टाछुट्टै घटना भएका थिए । त्यस ठाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ ।
सेनाले चरम यातना दिएर सर्वसाधरणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन् । ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने ।
गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ ।
त्यस्तै सत्ता हातमा लिएयता म्यान्मारको सेनाले नागरिक स्तरबाट प्रतिरोधको सामना गर्दै आएको छ । बीबीसीका अनुसार सेनाले सत्ता आफ्नो हातमा लिएयता विदेशी पत्रकारहरूलाई रिपोर्टिङ गर्न दिइएको छैन । यसैगरी अधिकांश निजी सञ्चारमाध्यम बन्द भएका छन् जसका कारण स्थलगत रिपोर्टिङ असम्भवप्रायः भएको बीबीसीले उल्लेख गरेको छ । तस्बिर: बीबीसी