३५ वर्षीय युवा नेता बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३५९ पटक पढिएको
ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनि चिलीमा सरकार विरोधी प्रदर्शनका क्रममा चर्चित बनेका एक वामपन्थी प्रतिद्वन्द्वी हुन् । विश्वकै कम उमेरका नेताहरू मध्ये बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति हुन् ।
चरम दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । लगभग ९९ प्रतिशत मतदान केन्द्रहरूको मतगणना गर्दा बोरिकले ५६ प्रतिशत मत प्राप्त गरेका छन् भने कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन् ।
उनको निकटतम् प्रतिस्पर्धीकास्टले आधा मतपत्र गणना भएकै बेला आफ्नो पराजय स्वीकार पनि गरिसकेका छन् । कास्टले एक ट्विट गर्दै विशाल जितका लागि बोरिकलाई बधाइ समेत दिएका छन् ।
मार्चमा पदभार ग्रहण गर्ने बोरिकले चिलीको बजार-उन्मुख आर्थिक मोडेलमा काम गर्ने बताएका छन् । सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोधमा सरकारी विराेधका प्रदर्शनपछि निर्वाचन भएकाे हाे । ल्याटिन अमेरिकामा कुनै बेला आर्थिकरूपमा सर्वाधिक सन्तुलित अर्थतन्त्र भएको चिली विश्वकै सर्वाधिक आम्दानी असमानता भएको देश मानिन्छ ।
बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता गरेका छन् ।
बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । सन् २०११-१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए ।
त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए । सन् २०१७ मा पनि उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी भए ।
हाल उनी प्रगतिशिल सोशल कन्भर्जेन्स पार्टीका सदस्य हुन् जो संसदमा वाम पक्षधरको ब्राड फ्रन्ट ब्लक सँग सम्बन्धित छ । तस्बिर : रोयटर्स