अमृतसरको स्वर्ण मन्दिरमा एक व्यक्तिको पिटीपिटी हत्या
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८० पटक पढिएको
भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल मानिने स्वर्ण मन्दिरमा एक व्यक्तिको पिटीपिटी हत्या भएको प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिवार प्रार्थनाका बेला ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ । समाचार अनुसार सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ राखिएको हुन्छ । गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ ।
स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर त्यसै बेला त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि जाइलागेका थिए । त्यस बारे अझै पनि स्पष्ट जानकारी नआएको समाचार माध्यमहरुले जनाएका छन् । प्रहरी घटनास्थलमा पुग्दा उक्त व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
मृतकको परिचय अझै खुल्न नसकेको जनाएको छ । मृतक २०-२५ वर्षको जस्तो देखिएको प्रहरीले जनाएको छ । यस घटनामा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले आफ्नो ट्वीटमा, "उक्त नृशंस कृत्यका पछाडिको उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरूप्रति शून्य सहनशीलता अपनाउन" प्रहरीलाई आदेश दिएको लेखेका छन् ।
स्थानीय समाचार च्यानल एनडीटीभीसँग बोल्दै उनले उक्त घटना पञ्जाबलाई कमजोर पार्न सुनियोजित रूपमा गराइएको दाबी गरेका छन् । उनले भने, "केही मानिसहरूले विगत पाँच वर्षदेखि यसलाई राजनीतिक खेल बनाएका छन्," ।
बीबीसी हिन्दीका अनुसार सन् २०१५ मा फरीदकोट जिल्लामा गुरु ग्रन्थ साहिब बिगार्न खोजेको भन्दै ठूलो प्रदर्शन भएको थियो । त्यस बेला त्यहाँ प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु समेत भएको थियो । त्यस्तै सन् २०१७ मा पञ्जाब विधानसभाको निर्वाचनमा शिरोमणि अकाली दल र बीजेपीको गठबन्धन सोही घटनाका कारण पराजित भएको बताइन्छ ।
गत अक्टोबर महिनामा पनि सिङ्घ सीमामा किसानहरूको प्रदर्शनका बेला कथित अपमानको घटनामा निहङ्गहरूले एक व्यक्तिको हत्या गरिदिएका थिए । मृतकमाथि सिख धर्मग्रन्थको अपमान गरेको आरोप लागेको थियो ।