नेवारी समुदायमा योमरी पुन्ही मनाइदै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९९ पटक पढिएको

 

नेवारी पात्रो अनुसार दोस्रो महिनाको पूर्णिमामा मनाइने योमरी पुन्ही आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । घरमा धान भित्र्याएको उपलक्ष्यमा नेवार समुदायले यो चाड मनाउने गर्दछन् । योमरी खाइने भएकाले यस दिनलाई यःमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिएको हो ।  

नेवारी भाषामा “यो”भन्नाले मन पर्ने र “मरी ”भन्नाले रोटी भनेर बुझिन्छ ।  योमरीमा प्रयोग हुने प्रायः सामग्री नयाँ चामलबाटै बनाइन्छ । नयाँ धानको चामलको पिठोलाई माछाजस्तो स्वरूप बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट यःमरी तयार पारिन्छ । ‘मायो’ र ‘बायो’ गरी योमरी दुई प्रकारको हुन्छ । योमरीमा स्त्री र पुरुषको प्रतीक पनि बनाउने गरिन्छ ।

""

योमरीलाई भकारी लगायत अन्नको भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । उक्त चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यसरी बनाएको योमरी नयाँ आएको धानको भकारी वा कुलदेवता वा पूजाकोठामा पूजा गरेमा कृषि उत्पादनमा वृद्धि हुने र अन्नको अभाव नहुने विश्वास गरिन्छ । 

योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चोअनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास रहेको छ  । नेवार समुदायमा मानिसहरुले चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी  सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ । योमरी जाडोमा शरीरमा आवश्यक ताप र ऊर्जा दिने र चिसोबाट लाग्ने रोगबाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

""

पहिलापहिला घरमा बनाएर खाइने योमरी हिजोआज व्यवसायीकरण हुँदै गएको छ । योमरी पौष्टिक परिकार भएकोले र शरीरलाई फाइदाजनक रहेकोले पनि यो सबैको लागि विशेष मानिन थालिएको  छ । त्यसैले व्यवसायीले योमरी बनाएर बेच्ने, यसैबाट थुप्रै आम्दानी गर्ने गरेको पाइन्छ । त्यस्तै आज धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेलेझैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन समेत रहेको छ ।

उधौली पर्व तथा योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

"" 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित