साइबर सेनाका ७ समूहमाथि फेसबुकको प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४२ पटक पढिएको

 

फेसबुकको माउ कम्पनी मेटाले सामाजिक अभियन्ता, विमति राख्ने व्यक्ति र पत्रकारलाई निशाना बनाउँदै आएका ७ वटा निजी साइबर समूहमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल कम्पनी मेटाले बिहीबार ७ वटा ‘साइबर मर्सिनरी’ वा भाडाका साइबर सेनामाथि प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

प्रतिबन्ध लागेका साइबर समूहमा इजरायलका ब्ल्याक क्युब, कोगनाइट, ब्ल्यूहक सीआई र कबवेब छन् । यी ४ इजरायली कम्पनीले साइबार जासुसीमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए। समाचार अनुसार अनुसन्धानपछि ह्याकिङसहितका अन्य अपराधमा संलग्न रहेको पाइएपछि ती समूहका झण्डै १ हजार ५ सय नक्कली अकाउन्टलाई फेसबुक, इन्टाग्राम र ह्वाट्सएपबाट हटाइएको छ ।

त्यस्तै, मेटाले उत्तरी मेसेडोनियाको साइट्रोक्स र भारतको बेलट्रोक्समाथि समेत प्रतिबन्ध लगाएको छ । नाम नखुलाइएको एक चिनियाँ साइबर कम्पनीमाथि पनि प्रतिबन्ध लगाइएको छ । मेटाले भाडाका साइबर समूहद्वारा निगरानी गरिएका सयभन्दा बढी मुलुकका ५० हजार मानिसलाई सतर्क हुन समेत भनेको छ । 

मेटाका सुरक्षा नीति प्रमुख नाथानियल ग्लेइसरले मिडिया ब्रिफिङमा बोल्दै प्रतिबन्धित साइबर कम्पनीले अन्य ठूला कम्पनीको पक्षमा काम गरेको र मानिसलाई जथाभावी निशाना बनाएको बताएका छन् । ग्लेइसरले भने, ‘भाडाका निगरानी कम्पनीले सबैभन्दा उपल्लो तहका पात्रको पक्षमा अन्धाधुन्द निशाना बनाएको देखिन्छ’,  ।

यसैबीच, ‘साइबर मर्सिनरी’ समूहले अपराधी र आतंकवादीलाई मात्रै आफूले निशाना बनाएको दाबी गरेका छन् ।तर मेटाले महिनौं लगाएर गरेको अनुसन्धानपछि पत्रकार, विमति राख्ने व्यक्ति, अधिनायकवादी सरकारका आलोचक, मानव अधिकारकर्मी एवं विपक्षी नेताका परिवारलाई अन्धाधुन्द निशाना बनाएको पाइएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित