हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३५ पटक पढिएको

हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना हुँदा ६० जनाको मृत्यु भए सँगै त्यहाँको सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
अल्जजिराको अनुसार घटनास्थल नजिकैका २० घरमा समेत आगलागी भएको विस्फोटमा १०० जनाभन्दा बढी घाइते भएको छ ।
हाइटीको दोस्रो ठूलो सहरमा मंगलबार मध्यरातमा भएको विस्फोट पछि प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । स्थानीय अस्पतालमा घाइतेहरूको भिड लागेको बताईएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाल्दा ट्यांकर विष्फोट भएको थियो । त्यहि भएर पनि मानवीय क्षति धेरै भएको समाचारमा जनाईएको छ । उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको समाचारहरु पनि आइरहेका छन् । तस्बिर : रोयटर्स