आदिवासी बालबालिकालाई क्यानडाले ३१ बिलियन डलर क्षतिपूर्ति दिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६५ पटक पढिएको

 

आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप क्यानडाले ३१ अर्ब अमेरिकी डलर दिने भएको छ । सन् १९९६ सम्म सञ्चालित आवासीय विद्यालय नजिकै ११ सय जनाको चिहान फेला परेपछि जन दबाब खेप्दै आएको क्यानडाले क्षतिपूर्ति दिने भएको हो ।

क्यानडा सरकारले मंगलबार औपचारिक रुपमा क्षतिपूर्ति रकम घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । ३१ अर्ब बराबरको क्षतिपूर्ति रकमलाई २०१६ को न्यायिक छानबिनसहित अन्य २ वटा मुद्दा निरुपण र आदिवासी बाल कल्याण कार्यक्रमको दीर्घकालीन सुधारका लागि प्रयोग गरिने समाचारमा उल्लेख छ ।

बीबीसीका अनुसार क्यानाडामा १९९६ सम्म आदिवासी बालबालिलकालाई आफ्नो मातृभाषा त्यागी इसाइ बनाउने र  समाजमा सम्मिलन गराउने उद्देश्यस्वरुप आवासीय विद्यालय प्रणाली लागू गरिएको थियो । उक्त प्रणालीअन्तर्गत आदिवासी बालबालिकालाई उनीहरूको परिवारबाट छुटाएर आवासीय विद्यालय पठाइने गरिन्थ्यो । यसमध्ये कैयौं बालबालिकाहरू कुपोषण, कुटपिट र यौन दुर्व्यवहारको सिकार बन्ने गर्थे ।

मातृभाषा त्यागी अंग्रेजी वा फ्रेन्च बोल्न र इसाइ बन्न बाध्य पार्ने उक्त नीतिका कारण आदिवासी बालबालिकाको कैयौं पुस्तामाथि आघात परेको थियो । सन् १८७४ देखि १९९६ सम्म सञ्चालित आवासीय विद्यालयमा फस्ट नेशन्स, मेटिस र इनुइट आदिवासीका १ लाख ५० बालबालिका राखिएको अनुमान गरिन्छ ।

आवासीय विद्यालयलाई आर्थिक सहयोग दिने र सञ्चालन गर्ने कार्यमा गिर्जाघर (चर्च) ले महत्वपूर्ण भूमिका खेलेका थिए । एक सर्वेक्षणअनुसार खासगरी रोमन क्याथोलिक चर्चले झण्डै ७० प्रतिशत आवासीय विद्यालय सञ्चालन गरेका थिए ।  तस्बिर : बीबीसी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित