दोस्रो चरणको चुनावमा देउवालाई सिंह, निधि र गुरुङको समर्थन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२१ पटक पढिएको
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा पहिलो चरणको ३ जना उम्मेदवारले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मतदानमा पहिलो चरणबाट बाहिरिएपछि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको चुनावमा पनि उम्मेदवार रहेका देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यो घोषणाले दोस्रो चरणमा सभापतिका लागि देउवाको जित निश्चित भएको आँकलन भैरहेका छन् ।
सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच जना उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि हुन लागेको दोस्रो चरणको मतदान केहि समय पछि शुरु हुँदैछ । काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५१ प्रतिशत मत ल्याउनुपर्छ । दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए भने प्रतिस्पर्धी कोइरालाले १७०२ मत ल्याएका थिए । कुल चार हजार ६ सय ८१ मतमध्ये सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए ।