ओमिक्रोनबाट पहिलो मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४२ पटक पढिएको

 

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलायतमा ओमिक्रोनबाट एकजनाको मृत्यु भएको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पुष्टि गरेका छन् । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । 

लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का रुपमा नलिन आह्वान गर्दै एकजनाको मृत्यु भएको बताएका हुन् । उनले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन पनि आह्वान गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उनले भने, दुःखको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ । त्यसैले हामीले यो भाइरसको भेरियन्टलाई हल्का रुपले लिनु हुँदैन ।’ 

त्यहाँको स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी दिएका छन् । उनले ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको पनि बताएको बीबीसीले उल्लेख गरेको छ ।

यस अघि ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन कोभिडविरुद्धका खोपहरू सक्षम भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाईसकेको छ । ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ । 

दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको भेरियन्ट हाल विश्वका धेरै देश हरुमा फैलिसकेको छ । नेपालमा भेटिएको २ जना संक्रमित भने संक्रमणमुक्त भइसकेका छन् । तस्बिर: एफटी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित