इन्डोनेसियामा ७.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१० पटक पढिएको
पूर्वी इन्डोनेसियामा ७.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसिया नुसा टेङ्गारा प्रान्तको फ्लोरेस टापु केन्द्रबिन्दु बनाएर मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको हो ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान, र भूभौतिक एजेन्सीले भने ७.४ म्याग्निच्युडको भूकम्प आएको यस अघि जनाएको थियो । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार शक्तिशाली भूकम्पपछि त्यहाँको सरकारले सुनामीको चेतावनी जारी गरेको छ । सरकारले मालुकु, पूर्वी नुसा टेंगारा, पश्चिम नुसा टेंगारा र दक्षिणपूर्व र दक्षिण सुलावेसीका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको बताईएको छ ।
समाचार अनुसार प्रान्तको एउटा तटीय क्षेत्रमा पानीको स्तरमा अलिकति वृद्धि भएको देखिए पनि ठूलो सुनामी भने आइसकेको छैन । अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरिरहेको समाचारमा उल्लेख गरेको छ । भूकम्पको धक्का महसुस गरेका क्षेत्रहरूबाट कुनै ठूलो क्षति वा मृत्युको विवरण नआएको अल्जजिराले जनाएको छ ।
पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । इन्डोनेसियाको घातक मध्ये मानिने सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।