दोस्रो चरणको निर्वाचनमा देउवालाई प्रकाशमानको समर्थन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२६ पटक पढिएको

 

प्रकाशमान सिंहले नेपाली काँग्रेसको सभापति पदको लागि शेरबहादु देउवालाई समर्थन गर्ने बताएका छन् ।  नेता सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने पत्रकार मार्फत जानकारी दिएका हुन् ।पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

दोस्रो चरणको चुनावमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको अनुमान गर्न थालिएको छ । आइतबार विहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार देउवाले अरुले भन्दा बढी मत पाए पनि बहुमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नुपर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको थियो । 

काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५१ प्रतिशत मत ल्याउनुपर्छ । समितिले दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको छ । 

आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत आवश्यक पर्छ । यद्यपि, सबैभन्दा धेरै देउवाले २२५८ मत पाएका थिए । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएका थियाे । कोइरालाले भने १७०२ मत पाएको थियो ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका थिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित