काँग्रेसको १४ औं महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२६ पटक पढिएको

केन्द्रीय निर्वाचन समितिले नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु गर्दैछ । विहान ८.०० बजेबाट मतदान सुरू हुने भनिए पनि ढिलाे हुने भएकाे हो ।
मतदान गर्नको लागि महाधिवेशन प्रतिनिधिहरु भने लाइनमा बसिसकेका छन् । प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु पनि लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन् । मतदानस्थलमा प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।
काँग्रेसको एक सभापतिसहित १३ पदाधिकारी र एक सय २१ केन्द्रीय सदस्यहरु गरि जम्मा एक सय ३४ पदका लागि निर्वाचन हुन लागेको हो । भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभा गृहमा एक गरि तीन मतदान केन्द्रबाट चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नुहुने निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार अहिले मतपत्रहरु मतदान केन्द्रमा लाने काम भइरहेको र मतदान सुरु हुन अझै एक घण्टा लाग्ने छ । मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन् । भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ भने मत खसाल्नका लागि एक हजार एक सय बुथ तयार गरिएका छन् ।
मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने समितिले अनुमान गरेको छ । मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुने बताईएको छ ।
सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार छन् ।