अमेरिकामा आँधीका कारण १०० जनाको मृत्यु भएको आशंका
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४७७ पटक पढिएको

अमेरिकाको केन्टकी राज्यमा विनाशकारी आँधीका कारण कम्तिमा १०० जनाको मृत्यु भएको आशंका गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार राति आएको आँधीबेहरीले कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको हो ।
समाचारमा उल्लेख गरे अनुसार मध्यपश्चिम र दक्षिण, घरहरू ध्वस्त भएका छन् । घटना लगत्तै ५० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका थिए । मृतकको संख्या बढ्न सक्ने जनाईएको थियो । भग्नावशेषमुनि बाँचेकाहरूलाई खोज्नको लागि उद्दार कार्य सुरु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । केन्टकीमा आपतकालीन संकटकाल घोषणा गरिएको छ । त्यहाँको भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुले यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । त्यहाँको गर्भनर एन्डी बेशियरले स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताएका थिए ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार त्यहाँको विभिन्न गोदामहरुमा अझै पनि कामदारहरु फसेका छन् । गर्भनर बेशियरले मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेका जनाएका छन् ।उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने समेत समाचारमा उल्लेख छ ।
राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँधी आएको भन्दै पीडितको उद्धार तथा राहतका लागि हरसम्भव कदम चाल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति बाइडनले आइतबार विशेष टोली केन्टकी जाने र घरबाहरविहीन भएकाहरुका लागि आवास तथा खानाको प्रबन्ध मिलाउने बताएका छन् ।
आँधीबाट केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि प्रभावित भएका छन् । बीबीसीका अनुसार त्यहाँको प्रहरीले आँधीको कारण राज्यको पश्चिमी भागहरूमा धेरै क्षति पुगेको बताएका छन् । हप्किन्स काउन्टीमा चरम हावा चलिरहेको बेला एउटा रेल पटरीबाट खसेको स्थानीय मिडियाहरुले जनाएका छन् । तस्बिर : गेट्टी इमेज