फ्रान्सले ओलम्पिक बहिस्कार नगर्ने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ९८ पटक पढिएको

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन मार्फत राष्ट्रपति म्याक्रोनले ओलम्पिकलाई राजनीतिकरण गर्न नहुने बताउँदै बहिस्कार अनुपर्युक्त भएको र यसले खासै महत्व नराख्ने बताएका हुन् ।
अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक बहिस्कार घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । चीनमा मानवअधिकार उल्लंघनका घटनामा तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका थिए ।
यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बेइजिङ ओलम्पिकमा आफू सहभागी हुने जनाएका छन् ।
चीनले त्यहाँको मुस्लिम समुदाय उहिगुर र अन्य अल्पसंख्यकमाथि दमन गरेको ती देशहरुले आरोप लगाउँदै आएका छन् । त्यस्तै, हङकङमा भएको राजनीतिक आन्दोलनमा भइरहेको दमन र चीनकी टेनिस खेलाडी पेङ सुआईमाथि भएको यौन दुर्व्यवहारका विषयलाई पनि ती राष्ट्रले चीनसँग अौला ठडाएका छन् ।
चीन भने खेल बहिष्कार गर्ने देशहरूले "आफ्नो गल्ती मूल्य चुकाउने" बताउँदै आएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य ‘चिनियाँ जनताविरुद्ध अपराध’ ठहरिने समेत बताएको थियो । तस्बिर: रोयटर्स