नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुरु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३५७ पटक पढिएको

 

नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उद्घाटनबाट शुरु हुने भएको छ। महाधिवेशनको सबै तयारी पूरा भएको केन्द्रीय सदस्य एवं सञ्चार तथा सूूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । 

महाधिवेशनलाई मात्रै केन्द्रित गरेर आज ५ हजारभन्दा बढी प्रहरी खटाइएको जानकारी प्राप्त भएको छ । महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताईएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको नयाँ नेतृत्व चयन भएपछि नीति अधिवेशनमार्फत पार्टीका नीति, दृष्टिकोण र कार्यक्रममाथि बहस गरिने बताएका छन्  । प्रवक्ता शर्माका अनुसार विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल भए पनि अहिलेलाई कागजकै मतपत्रमार्फत मतदान हुने निर्णय भएको छ । 

 उनले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका लागि अलग–अलग मतदान गर्ने व्यवस्था गरिएको पनि बताएका छन्  । उनले भने, “सर्वप्रथम सभापतिलाई मतदान गर्नुपर्नेछ । मतपत्र मतपेटिकामा खसालेपछि उपसभापतिका लागि मतदान गर्नुपर्नेछ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीलाई मतदान गर्नुपर्नेछ । ”

मतदान भने नेपाल पुलिस क्लब, राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने बताईएको छ । उद्घाटन समारोहमा देशका शिर्षनेताहरुलाई आमन्त्रण गरिएको बताईएको छ। बिहीबार महाधिवेशनको  केन्द्रीय कार्यालय सानेपा ललितपुरमा सभापति देउवाको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठकले चारवटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको जनाएको थियो । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्काले प्रस्तुत गरेका र उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेका प्रतिवेदन पारित भएको बताएका थिए । त्यसैगरी १४औँ महाधिवेशन तयारीका क्रममा केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, बाधा अड्काउ–फुकाउ र निलम्बन गर्ने निर्णयलाई पनि बैठकले पारित गरेको उनले बताएका थिए ।

प्रवक्ता शर्माका अनुसार केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा पारित गरेका चारवटै प्रस्तावलाई अनुमोदनका लागि १४औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ । 

त्यसैगरी सहभागी प्रतिनिधिहरूका लागि आवास र भोजनको व्यवस्थापन का लागि मात्र साढे तीन करोडदेखि चार करोड रुपियाँसम्म खर्च हुने अनुमान गरिएको उनले बताएका छन् ।   

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित