अन्तरिक्ष यात्रामा जापानी अर्बपति

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८९ पटक पढिएको

 

जापानी अर्बपति युसाकु मेजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसको यात्राका लागि बुधवार प्रस्थान गरेका छन् । उनी रुसी सोयुज यानमा अन्तरिक्षमा गएका हुन् । गएको एक दशकमा आफ्नो खर्चमा अन्तरिक्षमा कोही पनि पर्यटक गएका थिएनन् । 

लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिने बिताउने बताइएको छ । अन्तरिक्ष यात्रामा जाने अर्बपतिको सूचीमा थपिँदै मेजावाले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कुरा गर्ने बताएका बीबीसीले जनाएको छ । 

उनले सन् २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रूपमा यसलाई लिइएको बताईएको छ  ।मेजावाले यात्राअघिको पत्रकार सम्मेलनमा उनको सपना साकार हुन लागेको बताएका थिए ।

जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै बेला एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए र उनले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गरेका थिए । उनले सो कार्यक्रम पछि रद्द गरेका थिए ।

मेजावा जापानका सबैभन्दा धनी व्यक्तिको सूचीमा ३०औँ स्थानमा छन् र उनीसँग झन्डै दुई खर्ब अमेरिकी डलर बराबर सम्पत्ति रहेको बताइन्छ ।  सन् २०१९ मा उनी इलोन मस्कको स्पेसएक्स कम्पनीबाट चन्द्रमा यात्रामा जाने पहिलो पर्यटकका रूपमा चिनाइएका थिए । सन् २०२३ मा हुने यो यात्रामा उनीले आफ्नो खर्चमा आठ जना सर्वसाधारणलाई चन्द्रमा लाने बताएका छन् ।

बुधवार मेजावासँगै रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडियो निर्माता योजो हिरानो रकेटमा थिए । हिरानोले मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडियो खिच्ने बीबीसीले उल्लेख गरेको छ । 

रुसले सन् २००० को दशकमा अन्तरिक्ष पर्यटन सुरु गरेको थियो । अमेरिकी अर्बपति डेनिस टिटो अन्तरिक्षमा जाने पहिलो सर्वसाधारण बनेका थिए । सन् २०१० मा रुसले यस्तो यात्रा कार्यक्रम निलम्बन गरे पनि अहिले अन्तरिक्ष पर्यटन चर्चामा रहेको बेला रुसले पुन यो कार्यक्रम सुरु गरेको हो । तस्बिर: गेट्टी इमेज 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित