५७ मुलुकमा फैलियो ओमिक्रोन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२३ पटक पढिएको

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म ५७ मुलुकमा पुष्टि भएको जनाएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो ।
डब्ल्यूएचओका अनुसार ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या पनि बढ्न सक्ने छ । बुधबार मात्रै ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन कोभिडविरुद्धका खोपहरू सक्षम भएको पनि डब्ल्यूएचओले जनाएको थियो ।
पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएकोमा उनीहरु संक्रमणमुक्त भैसकेको छ ।
ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन ।
त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।
ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।