भारतको जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६९ पटक पढिएको

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको पुष्टि भएको छ । बुधबार भारतको तामिलनाडुको कन्नुरमा हेलिकोप्टर दुर्घटना भएको थियो । भारतीय वायुसेनाले ट्वीट गरेर उनको निधनको पुष्टि गरेको हो ।
उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए । त्यसमध्ये १३ जनाको निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । जेनरल रावतसँगै उनकी पत्नीको पनि निधन भएको बताइएको छ । सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको बताइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा ट्विटर मार्फत दु:ख व्यक्त गरेका छन् । भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ ।
दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पुर्जाबाट धुँवा निस्किरहेको देखिएको थियो । यसअघि तमिलनाडुका वनमन्त्री के रामचन्द्रनले घटनास्थलको भ्रमणपछि पाँच जनाको मृत्यु भएको र थप दुई जनाको अवस्था गम्भीर भएको बताएका थिए ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्मा सम्बोधन गर्ने बताइएको छ । सैनीक जनरल विपिन रावत सन् २०१६ को डिसेम्बर ३१ देखि २०१९ को डिसेम्बर ३१ सम्म सेना प्रमुखको पदमा रहेका थिए । उनी सन् २०२० को जनवरी १ देखि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारीमा रहँदै आएका थिए । उनि भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् ।