ओमिक्रोन विरुद्ध काम गर्न कोभिड खोप सक्षम छ :डब्ल्यूएचओ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३४ पटक पढिएको

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन कोभिडविरुद्धका खोपहरू सक्षम भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरियन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको थियो । डब्ल्यूएचओका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरियन्ट वा अन्य ”स्ट्रेन”भन्दा बढी बिरामी नपार्ने देखिएको छ ।
यसैबीच ओमिक्रोनमा खोपको असर अन्य भेरियन्टको तुलनामा कम हुने भन्ने कुरा आइरहँदा त्यस्तो कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा. माइक रायनले बताएका छन् । डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक समेत रहेका रायनले समाचार संस्था एएफपीलाई भने, ”हामीसँग अत्याधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्याउने सन्दर्भमा हालसम्मका सबै भेरियन्ट विरुद्ध प्रभावकारी देखिएका छन् र (ओमिक्रोन विरुद्ध) त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन,” ।
अरू केही भन्न नसके पनि खोपले कम गम्भीर बनाउने चाहिँ पक्का भएको उनको भनाई छ । ओमिक्रोन भेरियन्ट विरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने बताईएको छ ।
ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको भेरियन्ट हाल विश्वका धेरै देश हरुमा फैलिसकेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।