बुरुण्डीको एउटा कारागारमा आगलागी हुँदा ३८ कैदीको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२१ पटक पढिएको

बुरुण्डीको एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ३८ कैदीको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारमा स्थानीय समयअनुसार सोमबार बिहान चार बजे आगलागी भएको हो ।
सबैभन्दा गम्भीर घाईतेहरूलाई अस्पताल लगिएको छ भने सामान्य घाइतेलाई घटनास्थलमै उपचार गरिएको जनाईएको छ । विद्युत्त चुहावटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । कारागारको अधिकांश भाग जलेर ध्वस्त भएको र आगलागीको समयमा कैदीहरू सुतिरहेकाले धेरैको मृत्यु भएको बताइएको छ ।
एकजना प्रत्यक्षदर्शीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै भनेका छन्, ‘आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौं तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो ।’ उनले अगाडि भनेका छन्, ‘म कसरी उम्कें थाहा छैन । तर धैरै कैदीहरू भाग्दाभाग्दै जलेर मरे ।’
केही वरिष्ठ मन्त्रीहरुसँगै कारागारको अवस्था अवलोकन गर्न गएका उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले पत्रकारहरुसँगको कुराकानीमा ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको जानकारी दिएका थिए ।
रेड क्रसका टोलीहरू घटनास्थलमा गएपछि आगो नियन्त्रणमा ल्याइएको र पीडितहरूलाई सम्बन्धित उपचार गरिरहेको बताईएको छ ।
अक्टोबरको एक तथ्याङ्क अनुसार काराबासमा क्षमताभन्दा बढी कैदी रहनु बुरुन्डीको जेलहरूको प्रमुख समस्या हो । त्यहाँ ४,२०० कैदीको लागि बनाईएको कारागारमा १२,४०० कैदीहरू बसिरहेका थिए । तस्बिर: रोयटर्स