पुटिनको ६ घण्टाको भारत भ्रमण : रक्षा सम्झौतामा हस्ताक्षर
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २४७ पटक पढिएको

भारत र रूसबीच महत्त्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको हो । भारतीय मिडिया रिपोर्टअनुसार व्यापार र लगानीसमेत विभिन्न २८ वटा सम्झौतामा हस्ताक्षर भएका छन् ।
रूसको सहयोगमा भारतमा सैन्य प्रयोजनका लागि अत्याधुनिक हतियार एके–२०३ राइफल उत्पादन हुने बताईएको छ । सम्झौता अनुसार इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।
त्यसैगरी ५ हजार १ सय करोड भारतीय रुपैयाँको उक्त सुरक्षा सम्झौताअन्तर्गत ६ लाख राइफल उत्पादन गरिने छ । नयाँ राइफल अहिले भारतीय सेनाले प्रयोग गर्ने इन्सास राइफलको तुलनामा धेरै हलुंगो र सानो हुने हुने बताइएको छ ।
रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि अबेर राति ९९ बुँदाको संयुक्त वक्तव्य जारी गरिएको थियो । जसमा अन्तरिक्ष, विज्ञान, औद्योगिक, आतंकलगायतका मुद्दा समावेश छन् ।
रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण छोटो समयको भए पनि महत्वपूर्ण रहेको बताउँदै दुई देशबीचको सम्बन्ध मजबुत भएको भारतले दाबी गरेको थियो । ६ घण्टाका लागि मात्रै भारत आएका पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा वार्ता भएको थियो ।
पुटिनको छोटो भारत भ्रमणबारे जानकारी दिंदै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो थियो तर धेरै महत्वपूर्ण र सम्बन्धलाई थप प्रगाढ बनाउने खालको थियो । यस क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि भएका छन् ।’ पुटिन र मोदीबीच द्विपक्षीय व्यापार, लगानी जस्ता विषयले प्राथमिकता पाएको जानकारी पनि श्रृंगलाले दिए । तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटरबाट