ओमिक्रोनको २ जना संक्रमित नेपालमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५९ पटक पढिएको

 

नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई व्यक्तिमा ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरेको छ । 

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएका हुन् । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताएका छन् । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

अधिकारीले भने, "नयाँ भेरियन्ट पुष्टि भएको देशबाट ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदा नियम अनुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । उहाँसँग सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैँलाई मङ्सिर ७ गते कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ आएको थियो,"।

दुवैजना हाल आइसोलेसनमा रहेको र कुनै लक्षण नरहेको बताइएको छ । नेपालले विदेशबाट आउने हवाई यात्रुहरूलाई एन्टिजन परीक्षण गर्नुका साथै खोप नलगाएकाहरूलाई क्वारन्टीन अनिवार्य गरेको छ।

यो भेरियन्ट अत्याधिक उत्परिवर्तित भएको भनिए पनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे वैज्ञानिकहरूले अझैसम्म पुष्टि गरिसकेका छैनन्।   विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) का वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरिरहेका छन् । विश्वका धेरै देशहरूले दक्षिण अफ्रिका सहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित