आङ साङ सुकीलाई चार वर्षको जेल

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २८१ पटक पढिएको

 

म्यान्मारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । अशान्ति भड्काएको एवं कोभिड नियन्त्रणका उपाय पालना नगरेको जस्ता आरोपमा उनी दोषी पाइएको बीबीसीले जनाएको छ । 

उनीविरुद्ध ११ भिन्नाभिन्नै अभियोगहरू लगाइएका छन् । जसमा उनी दोषी ठहरिन भने उनलाई एक सय वर्षभन्दा धेरै जेल सजाय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । तर सुकीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् ।

उनलाई कहिलेदेखि जेलमा राखिने भन्ने प्रस्ट भइसकेको छैन । गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । बन्द कोठाभित्र नै उनको मुद्दाको सुनुवाइ भएको थियो ।

प्रजातन्त्र समर्थक एवं कूविरोधीहरूको हालै गठित गठबन्धन राष्ट्रिय एकता सरकारका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले सुकीको हालत ठीक नभएको उल्लेख गरेका छन् । उनले भने  "उनी ठीक छैनन्….सैनिक जर्नेलहरू उनलाई १०४ वर्षसम्म जेल सजाय गर्न खोज्दैछन् । उनको जेलमै मृत्यु होस् भन्ने तिनीहरू चाहन्छन्," डा सासाले भनेका थिए ।

सैनिक कूभन्दा केही महिना अघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो । उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो । सेनाले कू गरेपछि म्यानमारमा दिनदिनै जसो प्रदर्शनहरू भइरहेका छन् । 

फेब्रुअरी यता सैन्य शासकहरूले १० हजार ६०० भन्दा धेरै मानिस गिरफ्तार गरेका छन् भने विरोध प्रदर्शनका क्रममा १३०३ जना मारिएको समाचार आईरहेका छन् । तस्बिर: बीबीसी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित