नेपाली रेस्लर जुरेली द्वारा अमेरिकी रेस्लर स्ट्रोम पराजित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२५ पटक पढिएको
नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल भिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छिन् । प्रतियोगिताकै मुख्य प्रतिस्पर्धाका मानिएको एकल भिडन्तमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।
भृकुटिमण्डपमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ बधाइ दिएका थिए । त्यसैगरी नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पराजित गरेका थिए ।
पुरुष सिंगल फाइटमा भने पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई पराजित गरेका थिए । जोर्डनको भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडन्त भएको थियो ।
नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा जमुना तामाङलाई हराउँदै सपना तामाङ विजयी भएकी छिन् । पुरुष सिंगल फाइटमा भने पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोलाई पराजित गरेका छन् ।
विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।