डेटा भण्डारण गर्न डीएनए प्रयोग गर्ने दिन आउने वैज्ञानिकहरूको दाबी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २९२ पटक पढिएको
अमेरिकाको एट्लान्टामा वैज्ञानिकहरूको एउटा समूहले डीएनएमा सूचना भण्डारण गर्ने विद्यमान क्षमतालाई १०० गुणाले सुधार गर्न सकिने चिप बनाएको दाबी गरेका छन् । उनिहरूले विभिन्न सूचनालाई डीएनए अणुका रूपमा भण्डारण गर्ने प्रयास गरिरहेको जनाएका हुन् ।
"हाम्रो चिपमा भएका फीचरहरूको घनत्व अहिले बजारमा पाइने साधनको भन्दा झन्डै १०० गुणा बढी छ," जोर्जा टेक रिसर्च इन्स्टिट्यूट (जीटीआरआई) का वरिष्ठ वैज्ञानिक निकोलस गाइसलाई उद्दृत गर्दै बीबीसीले लेखेको छ, उनले नियन्त्रण प्रणालीका सबै विद्युतीय साधन जडान गरेपछि डीएनए डेटा भण्डारण गर्न अहिले उक्त प्रविधिमा १०० गुणाले सुधार हुने अपेक्षा गरिएको बताएका छन् । उनका अनुसार सो काम यो कार्यक्रममा अर्को वर्ष गर्ने योजना छ।
डीएनए जीवनको सङ्केत भण्डारण गर्ने प्राकृतिक माध्यम हो । त्यसको प्रयोगबाट हामीसँग भएका धेरै महत्वपुर्ण डेटा सङ्ग्रह गर्न सम्भव छ । वैज्ञानिकहरूका अनुसार त्यसो गर्दा डेटा हजारौँ वर्ष सुरक्षित राख्न सकिन्छ।
सूचना भण्डारण गर्न डीएनए अरू उपायभन्दा खँदिलो र दीर्घकालीन हुने बताईएको छ । अहिले कम्प्युटर डेटा सङ्ग्रह र भण्डारण गर्न चुम्बकीय हार्ड ड्राइभ प्रयोग हुँदै आए पनि त्यस्ता ड्राइभहरूले धेरै ठाउँ ओगट्ने भएकोले कालान्तरमा त्यसलाई फेर्नुपर्ने हुन्छ ।
डीएनए भण्डारण गर्ने विधिमा एकचोटिमा एउटा आधारभूत तत्त्व बनाउँदै डीएनएका त्यान्द्राहरू निर्माण गरिन्छ । डीएनएका आधारभूत तत्त्वलाई ‘बेस’ भनिन्छ र त्यस्ता चारवटा भिन्नभिन्न रासायनिक तत्त्वको संयोजनमा डीनएनएको अणु बन्छ ।
बेसलाई कहिलेकाहीँ ‘डीएनएका अक्षरहरू’ पनि भनिन्छ । तिनको प्रयोगबाट सूचना लिपिबद्ध पनि गर्न सकिन्छ ।यो विधि परम्परागत कम्प्युटिङमा शून्य ० र एक १ (बाइनरी कोड) प्रयोग गरेर डेटा सङ्ग्रह गरे जस्तै हुन्छ ।डीएनएमा सूचना भण्डारण गर्ने विभिन्न सम्भावित उपायहरू हुन्छन् । जस्तै, बाइनरी कोडमा एडिनिन वा साइटोसिनले शून्यको र ग्वानिन वा थाइमिनले एकको प्रतिनिधित्व गर्न सक्छन् । अथवा एक र शून्यलाई चारमध्ये दुईवटा बेसका रूपमा प्रस्तुत गर्न पनि सकिन्छ ।
वैज्ञानिकहरूका अनुसार डीएनएका रूपमा राख्न सकिए अहिलेसम्म निर्माण गरिएका प्रत्येक चलचित्रलाई चास्नीको एउटा चारपाटे टुक्राले ओगट्ने आयतनभन्दा सानो ठाउँमा अटाउन सकिन्छ । त्यस्तो भण्डारण कति सघन र विश्वसनीय हुन्छ त्यसका आधारमा लामो समयसम्म राख्नुपर्ने डेटा सङ्ग्रह र अभिलेख गर्न डीएनए एउटा नयाँ माध्यम बन्न सक्छ ।
चिपमा डीएनए वृद्धि गर्न प्रयोग गरिने सानो खण्डलाई माइक्रोवेल भनिन्छ। माइक्रोवेलहरू कागजको मोटाइभन्दा कम अर्थात् केही सय न्यानोमिटर गहिरा हुन्छन् । अहिले बनाइएको प्रोटोटाइप माइक्रोचिप झन्डै २.५ सेन्टिमिटर (१ इन्च) वर्गाकारको छ। त्यसमा धेरै माइक्रोवेलहरू छन् । ती माइक्रोवेलमा डीएनएका विभिन्न त्यान्द्राहरू समानान्तर निर्माण गर्न सकिन्छ। यसबाट छोटो समयमा ठूलो परिमाणमा डीएनए बनाउन सकिन्छ । तस्बिर : विज्ञान तस्बिर पुस्तकालय
बीबीसीबाट