ओमिक्रोनबाट डराइहाल्नु पर्ने अवस्था छैन :अमेरिकी राष्ट्रपति जो बाइडन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२७ पटक पढिएको
नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् ।
बाइडनले ओमिक्रोनबाट डराइहाल्नु पर्ने कुनै कारण नभएको भन्दै खोप लगाएकालाई बुस्टर डोज लगाउन समेत आग्रह गरेका छन् । उनले भने, ‘यदि तपाईंले खोप लगाइसक्नु भएको छ र नयाँ भेरियन्टका कारण चिन्तित हुनुहुन्छ भने बुस्टर डोज लगाउनुहोस्’ ।
बाइडेनले लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा अमेरिका रहेको पनि बताएका छन् । प्रमुख खोप निर्मातासँग स्वास्थ्य अधिकारीले परामर्श गरिरहेको र ओमिक्रोनको उत्परिवर्तनबारे आउन सक्ने संभावित अपडेटका लागि तयारी गरिरहेको पनि बाइडेनको भनाइ छ ।
बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था नआउने पनि बताएका छन् । नयाँ भेरियन्टसँग वैज्ञानिक कदम चालेर जुध्ने पनि उनको भनाइ थियो ।
अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकासहित अन्य ७ मुलुकबाट हुने हवाइ यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । मानिसहरूलाई खोप लगाउने समय दिन भन्दै यात्रा प्रतिबन्ध लगाइएको बाइडेनले बताएका थिए । हालसम्म अमेरिकामा ओमिक्रोनका संक्रमित फेला नपरे पनि छिमेकी मुलुक क्यानाडामा ४ जनामा ओमिक्रोन फेला परेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अति उत्परिवर्तित यो भेरिअन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो । ओमिक्रोनलाई "चिन्ताजनक भेरियन्ट" भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ ।
दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत, युरोपेली संघलगायत अन्य देशहरू पनि रहेका छन् ।