जनसङ्ख्या अनुमान गरिएकोभन्दा कम हुनसक्ने तथ्याङ्क विभागको अनुमान
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४९ पटक पढिएको
केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसङ्ख्या अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ जनाएको छ । सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधार अनुसार अनुमान गरिएको भन्दा कम जनसंख्या हुन सक्ने विभागले जनाएको हो ।
राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने विभागले जनाएको छ । जनगणनाको प्रारम्भिक नतिजा भने फागुनसम्ममा हामी सार्वजनिक गर्ने विभागको तयारी छ । विभागले यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अनुसार १० वर्षमा अर्थात् २०७८ सालसम्ममा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो ।
विभागका अधिकारीहरूका अनुसार जनसङ्ख्या कम देखिनुको मुख्य कारण प्रजनन दरमा कमी आउनु हो । सन् २०१९ मा गरिएको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले नेपालमा प्रजनन दर घटेर २ मा पुगेको देखाएको थियो । त्यसअघि नेपालको प्रजनन दर २.३ थियो ।
दुई भनेको ‘रिप्लेस्मन्ट लेभल फर्टिलिटी’भन्दा पनि कम हुनु हो । रिप्लेस्मन्ट लेभल फर्टिलिटी प्रति महिलाले बच्चा जन्माउने औसत दर हो ।रिप्लेस्मन्ट लेभल फर्टिलिटी २.१ हुन्छ । सो अध्ययन अनुसार बागमती प्रदेशमा रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ रहेको देखाएको छ ।
युवाहरू वैदेशिक रोजगारीमा जानु नेपालमा प्रजनन दर घट्नुको एउटा प्रमुख कारण भएको जनसङ्ख्याविद्हरु बताउछन् । कार्तिक २५ गतेबाट सुरु भएको राष्ट्रिय जनगणना मंसिर ९ गते सकिएको थियो । तस्बिर : केन्द्रीय तथ्याङ्क ब्यूरो