सोमबार मध्यरातदेखि विदेशीहरुलाई जापान प्रवेशमा रोक
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११२ पटक पढिएको
जापानले कोरोनाभाइरसको नयाँ कोरोनाभाइरस भेरियन्ट ओमिक्रोन संस्करणको फैलावट रोक्नको लागि विदेशीहरूको लागि आफ्नो सिमाना बन्द गर्ने घोषणा गरेको छ । विभिन्न मुलुकमा नयाँ भेरियन्ट फैलिन थालेको भन्दै जापानले सोमबार मध्यरातदेखि विदेशीलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।
सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताएका छन् । त्यस्तै अन्य राष्ट्रहरूबाट फर्केका आफ्ना नागरिकहरुले पनि तोकिएका सुविधाहरूमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रधानमन्त्री किशिदाको भनाई छ । उनले भने, "हामीले ओमिक्रोन भेरियन्टको बारेमा स्पष्ट जानकारी नभएसम्म पूर्वसावधानीका लागि यी अस्थायी उपायहरू अपनाएका हौँ । "
किशिदाले मानिसहरूलाई मास्क लगाउन र भाइरसविरुद्धका अन्य आधारभूत नियम निरन्तर पालना गर्न आग्रह गर्दै यसप्रति आलोचना सहन समेत तयार भएको बताएका छन् ।
जापानले शुक्रबारदेखि छ अफ्रिकी राष्ट्रहरूबाट आउने मानिसहरूमाथि सीमा नियन्त्रण कडा बनाउने बताएको थियो । नयाँ भेरियन्ट बारे धेरै कुरा अज्ञात रहे पनि त्यहाँ ओमिक्रोनको अहिले सम्म कुनै संक्रमण फेला नपरेको अल्जजिराले उल्लेख गरेको छ ।
अति उत्परिवर्तित नयाँ भेरियन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो । ओमिक्रोनलाई "चिन्ताजनक भेरियन्ट" भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ । प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ ।
यो भेरियन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ । पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ ।