युरोपमा फैलिन थाल्यो ‘ओमिक्रोन’

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९२ पटक पढिएको

 

गएको बिहिबार दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका हुन् । 

शनिबार दक्षिण अफ्रिकाबाट आएका बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट देखिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका हुन् । त्यस्तै, जर्मनीमा पनि नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ । 

इटलीमा भने मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ । चेक गणतन्त्रकी एक महिलामा पनि नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको लिबेरेकस्थित क्षेत्रीय अस्पतालका प्रवक्ता भ्याक्लाभ रिकारले बताएका छन् ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थका अनुसार दक्षिण अफ्रिकाबाट दुई उडानमा आएकामध्ये ६१ यात्रुमा कोरोना संक्रमण पुष्टि पछि उनीहरूलाई आइशोलेशनमा राखिएको छ । जिन सिक्वेन्सिङमार्फत् ती व्यक्ति नयाँ भेरियन्टबाटै संक्रमित भए वा नभएको निर्धारण हुने इन्स्टिच्युटले जनाएको छ ।

यसअघि बेल्जियम, हङकङ, इजरालय र बोत्स्वानामा मात्र ओमिक्रोनका संक्रमित फेला परेका थिए । ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आएलगत्तै कैयौं मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

‘बी.१.१.५२९’ पनि भनिने ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठनले ‘चिन्ताको विषय’ भनेको छ । यसअघिका भेरियन्टभन्दा बढी संक्रामक ठानिएको यसको उत्परिवर्तन क्षमता समेत धेरै रहेको छ । तर कोभिड-१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोन थप खतरनाक वा गम्भीर छ वा छैन भनेर पुष्टि हुन भने बाँकी नै छ ।

 वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ नाम दिएकाले यो ज्यादै संक्रामक हुन सक्ने पनि बताईएको छ । छिटो सर्ने र बढी मानिसलाई संक्रामक पार्न सक्ने खालका भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न भनिन्छ । कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम निरन्तर चलिरहने प्रकृया भए पनि यसलाई वैज्ञानिकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित