सोलोमन टापुको राजधानीमा तीन जनाको जलेको शव फेला
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२६ पटक पढिएको
केहि दिन देखि हिंसात्मक प्रदर्शन भईरहेको सोलोमन टापुको राजधानी होनियारामा तीन जनाको जलेको शव फेला परेको छ । शव होनियारा चाइनाटाउनको एक पसलमा फेला परेको संचारमाध्यमहरुले जनाएका छन् । जलेको एक भवनमा भेटिएको उक्त शवहरुलाई हिंसात्मक प्रदर्शन सुरु भए पछिकै पहिलो मृत्युको रिपोर्टमा दर्ज गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
उनीहरुको मृत्युको कारणको बारेमा अनुसन्धान भईरहेको सोलोमन टापुका प्रहरीले जनाएको छ । उक्त घटनामा थप जानकारी आउन बाकी भएको भन्दै अहिले होनियारा एकदमै तनावग्रस्त भएको बताईएको छ ।
तीन दिनसम्म भएको हिंसात्मक विरोधमा १०० भन्दा बढी मानिस पक्राउ परेको बताईएको छ । समाचार अनुसार प्रदर्शनको तेस्रो दिनमा प्रधानमन्त्रीको घरमा आक्रमण भएको र सहरका अधिकांश भागमा क्षति पुगे पछि राजधानीमा रातभर कर्फ्यू लगाइएको थियो ।
कोरोना महामारीले नराम्रो प्रभाव पारेको र दीर्घकालीन बेरोजगारी बेहोर्नु परेको भन्दै प्रधानमन्त्री मनसेह सोगावरेको सरकार विरुद्द प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले होनियारामा बुधबारदेखि सुरु गरेको प्रदर्शनलाई सुरक्षाकर्मीहरुले पनि रोक्न नसकेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
धेरै जनसङ्ख्या भएको टापु मलाइताका बासिन्दा र गुआडलकानल टापुमा रहेको केन्द्रीय सरकारबीचको लामो समयदेखि चलिरहेको विवादले पनि यो संकट निम्त्याएको विज्ञहरूले विश्लेषण गर्न थालेका छन् । द गार्डीयनका अनुसार लगभग ७ लाख जनसंख्या भएको द्वीपसमूह राष्ट्रले दशकौंदेखि जातीय र राजनीतिक तनाव सहेको छ ।
तस्बिर : एएफपी