कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६६ पटक पढिएको

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम नेपालमा पनि रहेको जनाएको छ । हालै दक्षिण अफ्रिकामा देखिएको उक्त नयाँ भेरियन्टलाई वैज्ञानिकहरुले अर्थपूर्ण रुपमा लिइरहेका बेला मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि जोखिम रहेको बताएका हुन् । 

उक्त नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै भेरियन्ट फेला परेका देशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखी पिसिआर गरिने प्रवक्ता डा.पौडेलको भनाई छ ।  

जोखिम क्षेत्रबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पिसिआर रिपोर्ट नेगेटिभ आए पछि मात्र छाडिदिने व्यवस्था गरेको उनले बताए । उनले अहिले नेपालको सिधा हवाई उडान दक्षिण अफ्रिकासँग नभएको पनि बताएका छन् । तर, अन्य देशमा पनि यो संक्रमण फैलिएको हुनाले कुन कुन देशसँगको उडान रोक्ने भन्ने सन्दर्भमा केही पछि मात्र निर्णय हुने उनको भनाई छ । 

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपाल पनि यस भेरियन्टको जोखिममा रहेको छ । नेपालले विभिन्न देशहरुसँग हवाई उडानलाई खुल्ला गरेकाले उक्त भेरियन्ट भित्रन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।  संक्रामक रोग विशेषज्ञ डा. पुनका अनुसार दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले अहिले विकसित भैरहेका खोपलाई पनि छल्न सक्छ ।

हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले उक्त नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । समाचारअनुसार ‘बि.१.१.५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुन: संक्रमण हुने जोमिख बढी रहेको छ । 

डब्ल्युएचओले ‘ओमिक्रोन’ लाई ‘चिन्ताजनक भेरियन्ट’ समेत भनेको छ । यसको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोमिख बढिरहेको वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ नाम दिएकाले यो ज्यादै संक्रामक हुन सक्ने पनि बताईएको छ । छिटो सर्ने र बढी मानिसलाई संक्रामक पार्न सक्ने खालका भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न भनिन्छ । कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम निरन्तर चलिरहने प्रकृया भए पनि यसलाई वैज्ञानिकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । 

नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिरीए लगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध लगाइसकेका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने हवाई यात्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको कडा स्क्रिनिङ र परीक्षण गरिने बताएको छ । 

तर, ओमिक्रोनको पहिचानपछि अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति दक्षिण अफ्रिकाले असहमति जनाउँदै आएको छ ।

तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित