२१ हजार रुपैयाँ उपचार खर्च तिर्न नसकेपछि बिरामीले गरे अस्पतालमै आत्महत्या

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११५ पटक पढिएको

 

विराटनगरको गोल्डेन अस्पतालमा २१ हजार रुपैयाँ उपचार खर्च तिर्न नसकेपछि बिरामीले अस्पतालमै आत्महत्या गरेका छन् । उपचार गरेबापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन् । 

घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तलामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ । बिहान ६ बजे उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । हाम फालेपछि उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । उपचारको क्रममा चार घन्टापछि उनलाई मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ । 

उनको उपचारमा ३८ हजार रूपैयाँ खर्च भएको थियो । परिवार स्रोतका अनुसार १७ हजार चुक्ता गरेपनि बाँकि २१ हजार रूपैयाँ तिर्न नसक्दा उनी घर जान पाएका थिएनन् । पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर राखेको बताईएको छ । 

छारेरोगको उपचारका लागि मण्डल मंसिर ४ मा अस्पताल भर्ना भएका थिए । पहिले आईसीयू र पछि वार्डमा सारेर उनको उपचार भइरहेको थियो । अस्पतालले उनलाई मंसिर ७ गते नै डिस्चार्जको अनुमति दिएको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी भएको कारण उनि घर जान पाएका थिएनन् । मृतकका पाँच वर्षीय छोरा, चार वर्षीया छोरी र श्रीमती छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित