काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेदेखि सुरु हुने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३१ पटक पढिएको

 

नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ । काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ गते देखि हुने भए पनि निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेबाट नै सुरु हुने भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने बताएका छन् । 

मङ्सिर २२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिने सम्भावना रहेको बताईए पनि निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन । यसको टुङ्गो मङ्सिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने श्रेष्ठको भनाई छ । 

निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिने र त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्ने बताईएको छ । त्यसै गरि भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्ने जनाएको छ ।

शुक्रबारबाट सुरु भएको काँग्रेसको जिल्ला अधिवेशन भने ६३ जिल्लामा अहिले पनि जारी छ ।  केही जिल्लाको अधिवेशन प्रक्रिया स्थगित गर्नुका साथै पछि सारिएको छ । चितवन जिल्लाको अधिवेशन भने नेकपा (एमाले)को जारी महाधिवेशन कारण स्थगित गरिएको हो । शनिबारसम्म धेरैजसो जिल्लामा नेतृत्व चयन हुने सम्भावना रहेको बताईएको छ ।

हालसम्ममा काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनका लागि तीन हजार पाँच सय प्रतिनिधि निर्वाचित भएको बताईएको छ । काठमाण्डूको जिल्ला अधिवेशन भने उम्मेदवारको मनोनयन दर्ता गरेर मङ्सिर १२ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी मङ्सिर १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने पार्टीको कार्यतालिका छ । केन्द्रीय महाधिवेशन भने मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डूमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित