रुसमा कोइला खानी दुर्घटना : ५२ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०३ पटक पढिएको
रुसमा कोइला खानी दुर्घटना हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय संचारमाध्यम अनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार भएको दुर्घटनामा परी ६ उद्धारकर्मीसहित ५२ जनाको मृत्यु भएको हो । उनीहरूलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ ।
रुसी समाचार समिति तासले दुर्घटनामा परेका मजदुरहरू कोही पनि जीवित नरहेको बताउँदै गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको उल्लेख गरेको छ । दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको, तैपनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जीवित नपाइएको समाचारमा उल्लेख छ ।
कोइला खानीमा विस्फोट भएपछि कोइलाको कालो धुलोले खानीभित्र अँध्यारो भएर उद्धारको काम गर्न कठिन भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । समाचारअनुसार दुर्घटनाका क्रममा खानीमा कम्तीमा पनि दुई सय ८५ मजदुर र कर्मचारी रहेका थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो । घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ ।
तस्बिर : एएफपी