फ्रान्समा आप्रवासीहरू बोकेको डुङ्गा डुब्दा २७ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३७ पटक पढिएको
फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा आप्रवासीहरू बोकेको एउटा डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानँले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन् ।
उक्त डुङ्गामा ३४ यात्रु सवार थिए । बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको बीबीसीले जनाएको छ । बेलायत प्रवेश गर्न चाहने अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार इङ्ग्लिश च्यानलमा भएको उक्त दुर्घटना सन् २०१४ पछिकै सबैभन्दा घातक मानिएको छ ।
बीबीसीका अनुसार बुधवार दिउँसो एउटा माछा मार्ने डुङ्गाले केही मानिसहरू फ्रान्स नजिकै समुद्रमा देखेको सूचना दिएको थियो । फ्रान्स र ब्रिटेनका अधिकारीहरूले त्यसपछि उद्धार कार्य सुरु गरेका थिए ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू "उद्विग्न" भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । बुधवार बेलुकी जोनसन र फ्रान्सका राष्ट्रपति एमानुएल मार्कोँले दुई देशबीचको जलमार्गबाट हुने तस्करी रोक्न र मानवतस्कर समूहहरूलाई मानव जीवन जोखिममा पार्नबाट रोक्न संयुक्त रूपमा सहमति गरेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बेलायतले फ्रान्सलाई समुद्र किनारमा प्रहरीको गस्ती सुदृढ पार्न, हवाई गस्ती गर्न र सुरक्षा पूर्वाधार बढाउन सन् २०२१-२२ मा ५४ लाख अमेरिकी डलर दिने वाचा गरेको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति मार्कोँले "च्यानललाई चिहान बन्न फ्रान्सले नदिने" बताएका छन् । उनले यो घटनाका लागि जिम्मेवार मानिसलाई खोज्ने र सजाय दिने बताएका छन् । उनले आप्रवासन चुनौती भोगिरहेका युरोपेली देशका मन्त्रीहरूको आपत्कालीन बैठक बोलाउनुपर्ने समेत बताएका छन् । यो वर्षको सुरुदेखि उत्तरी फ्रान्समा १५ सय ५२ जना मानवतस्करलाई गिरफ्तार गरिएको र तस्करहरूका ४४ वटा सञ्जाल भत्काइएको उनको भनाई छ । त्यस्तै यो वर्ष ४७ हजार मानिसले च्यानल पार गरेर बेलायत पुग्ने प्रयास गरेको र ७ हजार ८०० आप्रवासीलाई उद्धार गरिएको मार्कोँले बताएका छन् ।
हालैका दिनमा च्यानलबाट जोखिमपूर्ण यात्रा गरेर फ्रान्सबाट यूके आउने आप्रवासीको सङ्ख्या ह्वात्तै बढेको छ । यो वर्ष २५ हजार ७०० जना भन्दा धेरै व्यक्ति त्यसरी बेलायत आइपुगेका छन् जुन सन् २०२० को भन्दा तीनगुना बढी हो । बीबीसी न्यूजनाइटका नीति सम्पादक लूइस गूडलले आफूले बुधवार २५ वटा डुङ्गाले इङ्ग्लिश च्यानल हुँदै यूके आउने प्रयास गरेको बुझेको बताएका छन् । तस्बिर: रोयटर्स