राप्रपामा उम्मेदवारी घोषणा गर्नु बाध्यकारी कदम हो : लिङ्देन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११३ पटक पढिएको

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा नेता लिङ्देनले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्न बाध्य भएको बताएका छन् ।

लिङ्देनले भने, ‘यो बाध्यकारी कदम हो । कि त हामीले समाप्ति रोज्नुपर्ने थियो कि यो कदम उठाउनुपर्ने थियो ।’ आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको लिङ्देनको भनाई छ । उनले भने, ‘न यो विद्रोह हो न यो तपाईंहरू विरुद्धको उम्मेदवारी हो । राप्रपाको भविष्यलाई सुनिश्चित गर्नका लागि हो । हाम्रो यो कदमले राप्रपालाई अप्ठ्यारो पार्दैन । बलियो बनाउँछ, सुदृढ बनाउँछ ।’

राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको बताउदै आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको समेत लिङ्देनले बताएका छन् । राप्रपाका कार्यकर्ताहरु कमल थापाबाट थाकिसकेको उनको भनाई छ ।

अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् । आज पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर जबराले सार्वजनिक गरेका थिए । 

नेपालगञ्जमा मेयरसमेत रहेका राप्रपा नेता जबराको साथ पाएर लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि जबरा पनि अध्यक्षमा लड्ने चर्चा थियो । तर, उनले लिङदेनलाई साथ दिने भएपछि अब थापालाई राप्रपाको अध्यक्षमा निरन्तरता भारी पर्ने देखिएको विश्लेषण हुन थालेको छ । 

‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनलाई जबरा सहित अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ । 

अहिले राप्रपामा थापा सहित पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तीनै जना यस पटकका लागि पनि अध्यक्षका दाबेदार हुन् । राप्रपाको महाधिवेशन मंसिर १५,१६ र १७ गते काठमाण्डूमा हुँदैछ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित