स्वीडेनकी महिला प्रधानमन्त्री : नियुक्त भएको केही घन्टामै राजीनामा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ८७ पटक पढिएको
स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना यान्डरसनले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन् । उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
यान्डरसनले संवाददाताहरूसँग भनिन्,"मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु "। अब एकल पार्टी नेतृत्व सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने उनको भनाई छ ।
बीबीसीका अनुसार उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले "उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको" बजेट स्वीकार गर्न नसकेको जनाएको छ ।
स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ । यान्डरसन बुधवार प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन् । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएकी थिइन् ।
संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरेकी थिइन् । उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी छिन् । तस्बिर: रोयटर्स