युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने : डब्ल्यूएचओ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११६ पटक पढिएको

कोभिड-१९ का कारण सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओको युरोप क्षेत्रमा युरोपेली राष्ट्रहरूका साथै इजरायल , ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशलाई राखेको छ । सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा "उच्च वा चरम दबाव" हुने चेतावनी दिएको छ । डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ । "अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ," डब्ल्यूएचओले मङ्गलवार भनेको छ ।

डब्ल्यूएचओका अनुसार कोभिडका कारणले हालैका दिनमा मृत्यु हुनेको संख्या दोब्बर भएर दैनिक ४,२०० पुगेको छ । रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु सङ्ख्या १,२०० नाघेको छ । डब्ल्यूएचओले ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिएन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको जनाएको छ । 

युरोपमा अहिले सङ्क्रमण वृद्धि भइरहेकोले अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ । अन्य देशमा भने नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेको बीबीसीले उल्लेख गरेको छ । फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित