सिद्धान्तविरोधी चलचित्रलाई तालिबानमा प्रतिबन्ध
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३४५ पटक पढिएको
तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गरेको छ ।अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियमहरु छन् । जसमा देशका टेलिभिजन च्यानलहरूले महिला कलाकारहरूले प्रस्तुत गर्ने नाटक र सोप ओपेराहरू देखाउन बन्द गर्ने निर्देशन दिएको छ ।
त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । मन्त्रालयले च्यानलहरूलाई पैगम्बर मोहम्मद वा अन्य सम्मानित व्यक्तित्वहरू देखाइएका चलचित्र र कार्यक्रमहरू प्रसारण नगर्न र इस्लामिक र अफगान मूल्यमान्यता विरुद्ध हुने चलचित्र वा कार्यक्रमहरूलाई प्रतिबन्ध लगाउन आह्वान गरेको छ ।
जसअनुसार मुसलमानहरूको मूल्य र मान्यताविपरित वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबर्द्दन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ ।
अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् । उनले तालिबानले ल्याएका कतिपय नियम अव्यवहारिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै बन्द हुने बताएका छन् ।
यसअघि तालिबानले महिलालाई विद्यालय जान रोक लगाएको थियो । देशको आधाभन्दा बढी जनसंख्यालाई विद्यालयमा प्रतिबन्ध लगाउने अफगानिस्तान विश्वकै पहिलो देश हो । सत्ता सम्हालेपछि तालिबानले राजधानी काबुलस्थित महानगरका कर्मचारीलाई बेतलबी बिदामा घरमै बस्न आदेश दिएको छ ।