आजदेखि हैजाविरुद्धको खोप लगाउन सुरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६१ पटक पढिएको
कपिलबस्तु जिल्लामा आजदेखि हैजाविरुद्धको ओरल कलोरा भ्याक्सिन दिन थालिएको छ । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला नियन्त्रणमा नआएपछि खोप अभियान सञ्चालन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । खोप कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप केन्द्रमा निःशुल्क रुपमा खोप उपलब्ध गरिएको छ ।

खोप एक वर्ष माथिका सबै उमेर समूहका नागरिकलाई दिइनेछ भने पखाला लागेका र ज्वरो आएका व्यक्तिले खोप लगाउन नहुने विज्ञको सुझाव छ । हैजाको खोप लिएपछि कसैलाई हल्का ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, चिलाउने र साना बिमिरा आउने जस्ता सामान्य असर देखिन सक्ने र विस्तारै निको हुने समेत विज्ञहरुको भनाइ छ । मन्त्रालयले यो खोप दुई चरणको हुने ब ताएको छ । जसमा पहिलो मात्रा लिएको १५ दिनपछि मात्र दोस्रो सुरु गरिनेछ ।
संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) मार्फत् आएको उक्त्त खोप कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महाराजगञ्ज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउपालिकालाई ३५ हजार ९०३ र यशोधरा गाउपालिकालाई ३७ हजार ७८३ खोप छुट्ट्याइएको छ । सर्वप्रथम कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो भने यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो । त्यस्तै पिउने पानीको १० भन्दा बढी नमुना परिक्षण गर्दा दिशामा पाईने इकोली जिवाणु फेला परेको थियो ।सरसरफाईको अवस्था कमजोर हुदा कृष्णनगर नगरपालिकाबाट सुरु भएको झाडापखालाले कृष्णनगरका ४, शिवराज नगरपालिकाका एक र यशोधरा गाउपालिकाका एक गरि ६ जनाको मृत्यु भएको छ ।