लकडाउनसम्बन्धी नयाँ नियमहरूको बिरोधमा युरोपमा प्रदर्शन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९४ पटक पढिएको

युरोपमा कोभिड–१९ सङ्क्रमण बढ्न थालेसँगै लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको बिरोधमा विभिन्न देशहरुमा प्रदर्शन भइरहेको छ । नेदरल्यान्ड, अस्ट्रिया, क्रोएशिया र इटलीमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । 

नेदरल्यान्डको हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँक्नुको साथै उनीहरूको साइकलहरू पनि जलाइदिएको बीबीसीले जनाएको छ । त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गर्नुको साथै सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रर्दशनकारिहरुले बिरामी बोकेको एम्बुलेन्समा ढुङ्गा प्रहार गर्दा पाँच जना प्रहरी घाइते भएका छन । शुक्रवार रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाउदा कम्तीमा दुई जना घाइते भएका थिए । महामारीयता सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्डले तीन साता लामो आंशिक लकडाउनको घोषणा गरेको थियो भने रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरेको थियो । 

त्यस्तै, अर्को मुलुक अस्ट्रियामा सन् २०२२को फेब्रुअरी सम्ममा कोभिड विरुद्धको खोप अनिवार्य बनाउने योजना र नयाँ राष्ट्रव्यापी लकडाउन सार्वजनिक गरिएसँगै त्यहाँका हजारौँ प्रदर्शनकारीहरू अस्ट्रियाको राजधानी भियनामा विरोधमा उत्रिएका छन्। युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी प्रावधानका रूपमा अघि सार्ने पहिलो मुलुक अस्ट्रिया हो । सोमवारदेखि उक्त देशमा २० दिनसम्म  लकडाउन सुरु हुनेछ । जसमा अत्यावश्यक सामाग्री बेच्ने पसल मात्रै चल्न पाउनेछन् र कर्मचारीहरूले पनि  घरबाटै कामगर्नेछन् । 

त्यस्तै,  अर्को देश क्रोएशियामा पनि सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा राजधानी जाग्रेबमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन । इटलीमा पनि कार्यालय, सार्वजनिक सवारीका साथै अन्य विभिन्न स्थानमा प्रवेश पाउनका लागि अनिवार्य बनाइएको ’’ग्रिन पास’’को विरोधमा केही हजारको सङ्ख्यामा रहेका मानिसहरू प्रदर्शनमा उत्रिएका अन्तराष्ट््िरय सञ्चार माध्यमहरुले जनाएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनले भने युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू ’’निकै चिन्तित’’ रहेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्त सम्ममा थप ५००,००० मानिसको मृत्यु हुनसक्ने जनाएका छन । कोभिड सङ्क्रमण फैलन नदिनका लागि कैयौँ देशहरूले नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन् भने कतिले लागु गरिसकेकाछन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित