विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा काठमाण्डू
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३५० पटक पढिएको
काठमाण्डू विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा परेको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेट अनुसार काठमाण्डू प्रदूषित सहरको आठौँ नम्बरमा परेको हो ।
शनिबार बिहान काठमाडौँमा पिएम-२.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । सूचकांक १५१ नाघे त्यसलाई अस्वस्थकर मानिन्छ ।
वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाण्डूमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण व्हात्तै बढ्दै गएको बताएका छन् ।
नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाण्डू सहित विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ । जस अनुसार पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।
पिएम २.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाण्डूको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । उक्त पाँच सहरलाई रेड जोनमा राखेको समेत बताईएको छ ।
त्यस्तै धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।
आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जसलाई एकदमै घातक मानिन्छ ।
त्यस्तै दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाण्डू रहेको छ ।