दार्चुलामा गणना गर्न कठिनाइ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०५ पटक पढिएको

 

दार्चुलाको दुर्गम ठाउँमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न सकेका छैनन् । आफ्नै देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण जनगणनाजस्तो महत्त्वपूर्ण कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन् । 

व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँ करिब १२ किलोमिटर दूरीमा छन् । क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा रहेको गाउँ हिउँद लागेपछि बस्न नसकिने हुन्छ । प्रत्येक वर्ष तिहार मनाइसकेर त्यहाँका गाउँलेहरू बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा पुग्छन् । छ महिना जाडो छलेर मध्य वैशाखमा पुनः गाउँ फर्किन्छन् ।

यस वर्ष भने छाङ्ग्रु र तिन्करका बासिन्दाले अझै सदरमुकामतिरको यात्रा थालेका छैनन् । किनकि वडाअध्यक्ष अशोक सिंह बोहराले भनेका छन्ः "जनगणनाका लागि मान्छे आउँछन् । त्यो सकेर मात्र झर्नू।"

व्यास गाउँपालिका १ का वडाअध्यक्ष बोहरालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, "पैदल हिँड्ने गोरेटो पनि ध्वस्त भएको छ । भारतको बाटो हिँड्नुको विकल्प छैन । गणकहरूले त्यहीँ बाटो हिँड्ने अनुमति पाएका छैनन् रे। कहिले आउँछन् टुङ्गो छैन। धेरै ढिला भयो भने गाउँलेहरू सपरिवार बसाइँ सर्न थाल्छन्," । 

स्थानीयवासी नरेन्द्र तिन्करी जनगणनालगत्तै गाईबस्तु लिएर खलङ्गा जाने बताउँछन् । उनले भने, "चिसो निकै बढिसक्यो। छाङ्ग्रुमा त मङ्सिरको मध्यसम्म बस्न सकिन्छ तर यहाँ सकिँदैन। त्यसैले चाँडोभन्दा चाँडो काम सकिदिए हुन्थ्यो," ।

सदरमुकामबाट जिल्लाका विभिन्न गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बताउँदै सरकारी कामका लागि पनि भारतीय पक्षसँग अनुमति माग्ने गरेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बीबीसीलाई बताइन् । अनुमति स्वीकृत भएको खण्डमा तोकिएको सङ्ख्याअनुरूप मानिसलाई प्रवेश पत्र दिइन्छ । जोशीका अनुसार जनगणनाका लागि गत कार्तिक २५ गते एकजना गणक पठाउनेगरी पिथौरागढ जिल्ला अधिकारीसँग अनुमति मागिएको थियो ।

दुई महिनाअघि भएको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि भने सुपरिवेक्षकहरू सोही बाटो हुँदै छाङ्ग्रु र तिन्कर पुगेका थिए । सूचीका अनुसार दुई गाउँमा गरी ११५ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घर छन् ।

जाडोका कारण गाउँहरू माथिल्लो र तल्लो भेगमा छरिने क्रम बढ्दो छ। त्यसो हुँदा गणक आइपुग्दा सूचीकृत ११५ वटै घरका मानिस नभेटिन सक्छन्। उनीहरूलाई खोज्दै खलङ्गा र वरपरका गाउँ पुग्नु झनै चुनौतीपूर्ण बन्ने बताए । जाडोका कारण वडा कार्यालय, स्वास्थ्य चौकीलगायत सरकारी कार्यालयहरू पनि खलङ्गा सारिएको छ ।

बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित