न्युजिल्यान्डको आकाशमा आठ सय वर्षपछि दुर्लभ चन्द्रग्रहण देखिँदै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६१ पटक पढिएको
आठ सय वर्षपछि आज(शुक्रबार) राति न्युजिल्यान्डको आकाशमा एउटा दुर्लभ चन्द्रग्रहण देखिने द गार्डियनले जनाएको छ । द गार्डियनका अनुसार यो चन्द्रग्रहण स्थानीय समयअनुसार शुक्रबार राति ८:२० देखि सुरू हुनेछ । त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ ।
ग्रहण लाग्दा चन्द्रमा हल्का रातो हुने खगोलविज्ञहरू बताउँछन् । यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ । न्युजिल्यान्डबासीहरूलाई यो चन्द्रग्रहण महत्वपूर्ण हुने बताईएको छ । यसको प्रत्यक्ष प्रसारण नासाले गर्ने द गार्डियनले जनाएको छ । विशेषगरी खगोल विज्ञानमा रूची भएका व्यक्तिहरूका लागि यो महत्वपूर्ण हुने बताईएको छ ।
अकल्यान्डको स्टारडोम अब्जर्बेटरीका खगोलविद् रब डेभिसनका अनुसार, ‘पूर्ण चन्द्रग्रहण हुँदा साढे तीन घन्टा ग्रहण लाग्नु असामान्य होइन, कहिले अलि छोटो हुन्छ त कहिले लामो । तर आंशिक चन्द्रग्रहणमा यति धेरै लामो हुनु एकदमै दुर्लभ हो । धेरैजसो समय चन्द्रमालाई पृथ्वीको छायाले ढाक्नेछ र छोटो समयको लागि हाम्रो आकाशबाट ब्लड माइक्रोमुनको रूपमा प्रस्तुत हुनेछ।’
राति १० बजेसम्म चन्द्रमाको ९७ प्रतिशत ढाकिने उक्त ग्रहण साढे तीन घण्टापछि सकिनेछ । यसअघि यस्तो सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण न्युजिल्यान्डबाट सन् १२१२ मा देखिएको समाचारमा उल्लेख छ ।