दोस्रो भूउपग्रह प्रक्षेपण गर्ने नास्टको तयारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६८ पटक पढिएको

 

नेपाली वैज्ञानिकहरु अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा जुटेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) को सहयोगमा डा. आभास मास्केसहित १० जनाको टोलि भूउपग्रह निर्माणमा जुट्ने भएका हुन्  । 

नास्टले निर्धारित समयमा सबै काम भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरेको छ । नास्ट‘का अनुसार नेपाली स्याट–२ पदयात्री’ नाम रहने सो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेको गोरखापत्रले जनाएको छ । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ । यसपटक थाइल्यान्डको एजेन्सीसँग नास्टले सहकार्य गर्दैछ । नास्टका अनुसार इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्सटेड)सँगको सहकार्यमा स्याटेलाइट निर्माण गर्ने तयारी भइरहेको छ ।

यो परियोजना स्याटेलाइट क्षेत्रमा नेपालीको क्षमता अभिवृद्धि गर्ने योजनाअनुरूप निर्माण हुन लागेको हो । यस अघि जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । 

त्यस्तै डा. आभास मास्केले स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको जनाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ ।

डा. मास्केका अनुसार यस मिसनअन्तर्गतको स्याटेलाइटको प्लेलोड बोर्ड (पीसीबी) नेपालमै निर्माण गरिने छ । यस पीसीबीमा पीएक्स–४ अपरेटिङ सिस्टम मिसन, स्याटेलाइट सिस्टम अन चिप मिसन र ग्राउन्ड सेन्सर टर्मिनल मिसन फर ग्ल्यासिर लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) मोनिटरिङ रहने बताईएको छ । यस्ता परियोजनाले अन्तरिक्ष प्रविधिमा नेपाली युवालाई आकर्षित गर्ने उनको तर्क छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित