बिजुलीको खपत बढाउन नसकेकोमा प्राधिकरणको चिन्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८२ पटक पढिएको

नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको खपत कसरी बढाउने भन्ने चिन्ताले सताएको छ । प्राधिकरणले अपेक्षित रुपमा विद्युतको माग बढाउन नसके पछि प्राधिकरणले चिन्ता भएको जनाएको हो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत उपलब्ध भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोली नै औद्योगिक करिडोरमा पुगेर के कति थप बिजुली चाहिएको हो भन्ने जानकारी लिइरहेको छ । जल तथा ऊर्जा आयोग, लगानी बोर्ड र प्राधिकरण स्वयम्ले गरेको अध्ययन अनुसार भइदिएको भए यसवर्ष प्रणालीमा झण्डै चार हजार मेगावाट बराबरको बिजुलीको माग हुनुपर्ने थियो । तर, अझै पनि सहजै रुपमा बिजुलीको खपत बढ्ने अवस्था नदेखिएको प्राधिकरणले जनाएको छ ।
बिजुली खेर जान थाल्यो भन्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ औद्योगिक करिडोरमा पुगिरहेका छन् । ‘स्वदेशी बिजुली स्वदेशमै खपत गरौं’ भन्ने योजनाका साथ आफूले सकेसम्म पहल गरिरहेको उनले राससलाई बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल(इपान)का उपाध्यक्ष आशिष गर्गका अनुसार सरकारले वितरण प्रणाली निर्माण मात्रै गर्ने हो भने तत्काल नै देशभित्र एक हजार मेगावाट बिजुली खपत हुने राससले उल्लेख गरेको छ । उद्योग स्थापना गर्न चाहेका उद्यमी तथा हाल सञ्चालनमा रहेका उद्योगले माग गरेको बिजुलीको परिमाण हेर्दा हक हजार मेगावाट बढी बिजुली खपत हुने अवस्था रहेको उनको भनाई छ ।
उत्पादन सुरु भएको तीन वर्षपछि चिनियाँ लगानीको होङ्सी सिमेन्टले ३० मेगावाट बिजुली पाएको छ । सो उद्योगले अझै ५० मेगावाट माग गरेको छ । जगदम्बा स्टिलले थप २५ मेगावाट माग गरेको छ । सगरमाथा सिमेन्ट, मारुती सिमेन्टले पनि थप बिजुली माग गरेका छन् ।
यस्तै, बिजुली खपतका लागि शहरी क्षेत्रमा इन्डक्सनको प्रयोग बढाउने योजना अगाडि सारिएको छ । बुधबारदेखि बिजुलीको नयाँ महशुल कार्यान्वयनमा आएको छ । पछिल्लो महशुल अनुसार अब १५० युनिटसम्म बिजुली खपत गरेर इन्डक्सन चुल्होमा खाना पकाउन सकिन्छ ।