अमेरिकामा गर्भपतन भएको महिलालाई हत्या गरेको अभियोगमा चार वर्षको सजाय
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९१ पटक पढिएको
अमेरिकामा अक्टोबरलाई गर्भ खेर जाने कुराबारे चेतना जगाउने महिनाका रूपमा लिइन्छ । तर गएको अक्टोबरमा ओक्लाहामाकी एक आदिवासी महिलालाई जन्मिनै नपाएको बच्चाको हत्या गरेको अभियोगमा दोषी ठहर्याइयो र चार वर्षको जेल सजाय दिईयो ।
गर्भ खेर गएकी उक्त महिलालाई मानवहत्याको आरोप लाग्दा धेरै मानिसहरू आक्रोशित भएका छन् । बीबीसीले जनाएअनुसार गर्भधारणको चार महिना मात्र भएको ब्रिट्नी पूलोको सन् २०२० को जनवरीमा गर्भपतन भएको थियो । गर्भपतन हुने अवस्थामा उनी कसरी पुगिन् र उनलाई भ्रूणहत्याको अभियोगमा कसरी जेल हालियो भन्ने विषय अहिले अमेरिका सहित विश्वभर चर्चाको विषय बनेको छ ।
पूलोका वकिलले उनलाई दोषी ठहर गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । उनले अस्पतालमा उपचारका लागि आउँदा गर्भावस्थामा अवैध औषधिको प्रयोग गरेको स्वीकारेकी भए पनि चिकित्सकीय परीक्षकको प्रतिवेदनमा उनको नजन्मिएको बच्चाको कलेजो र मस्तिष्कमा मेथाम्फेटमीन नामक द्रव्य पाइएको बीबीसीले उल्लेख गरेको छ ।
आनुवंशिक विसङ्गति, गर्भाशयबाट साल छुट्टिँदा वा गर्भवती महिलाले मेथाम्फेटमीन प्रयोग गर्दा गर्भपतन हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै परीक्षकले मृत्युको स्पष्ट कारण निर्क्योल गरेका थिए । तर ती परीक्षकले भ्रूणको मृत्युको कारण निर्धारण गरेका छैनन् ।
नेशनल एड्भोकेट्स अफ प्रेग्नन्ट वूमन (एनएपीडब्ल्यू) की उपकार्यकारी निर्देशक डाना सस्मनले पूलोको कथा त मूल समस्याको एउटा सानो पाटो मात्र भएको बताइन् । उक्त संस्थाले अमेरिकामा गर्भवती महिला पक्राउ परेका तथा बलपूर्वक हस्तक्षेप गरिएका घटना खोज्ने गर्दछ ।
सन् १९७३ देखि २०२० सम्ममा एनएपीडब्ल्यूले त्यस्ता खालका १६सय वटा घटनाको विवरण राखेको छ । तीमध्ये १२ सय , १५ वर्षका मात्र छन् । कतिपय घटनामा गर्भवती महिलाहरू लडेर बच्चा खेर गएकोछ भने घरमा सुत्केरी हुँदा पनि बच्चाको मृत्यु भएको छ । तर धेरै घटनाहरू औषधिसँग जोडिएका छन् र भ्रूणहत्याको आरोप बेहोर्नेमा अश्वेत महिलाहरू धेरै छन् ।
अमेरिकामा सन् १९८० को दशकमा भ्रूणको लागुऔषधसँगको सम्पर्कबारे सांस्कृतिक बहस चलेको थियो । त्यस बेला दुर्व्यसनी आमाबाट जन्मिएका बच्चालाई जनाउन "क्र्याक बेबी" शब्द चलेको थियो । अनुसन्धानसंस्था गट्म्याकर इन्स्टिट्यूटका अनुसार अमेरिकाको २३ राज्यमा बालकल्याण कानुनअनुसार गर्भावस्थाका बेला लागुऔषध प्रयोगलाई बालदुर्व्यवहार मानिन्छ ।
यदि गर्भवती महिलाले त्यस्तो प्रयोग गरेको शङ्का लागे स्वास्थ्यकर्मीले जानकारी दिनुपर्ने नियम छ । अमेरिकाका कैयौँ राज्यमा गर्भावस्थामा लागुऔषध प्रयोग गरेको पाइएमा आमालाई कारबाही हुने कानुनहरू छन् । त्यस्ता कानुनअन्तर्गत कैयौँ राज्यमा महिलाहरूमाथि कारबाही भएको छ ।
तस्बिर: ओक्लाहोमा राज्य