नेपालाले रच्यो इतिहास
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४० पटक पढिएको
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको छ । कतारलाई लगातार दुई खेलमा पराजित गर्दै केहीबेरअघि सम्पन्न खेलमा नेपालले ६१ रनले पराजित गरेको हो ।
लामो इतिहास बोकेको भए पनि महिला क्रिकेट टोलीले यसअघि अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थिएन । तीन शृङ्खलाअन्तर्गत नेपालले अब अन्तिम खेल बिहीवार खेल्नेछ ।
अर्को हप्ता यूएईमा हुन लागेको टी-२० विश्वकप क्रिकेटको एशियाली छनोटअगाडि नेपालले खेलेको यो महत्त्वपूर्ण शृङ्खला हो । विश्वकपको अभ्यास खेलका रूपमा रहेको कतार भ्रमणमा प्रशिक्षक जगत् टमाटाले खेलाडीहरूको मूल्याङ्कन गरिरहेका छन् ।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। कप्तानका रूपमा रुबिना क्षेत्रीले नेतृत्व गरेको टोलीले उनको ५० रनको अर्धशतकीय पारीको सहयोगमा १२९ रन जोड्न सफल भएको थियो । क्षेत्री टी-२० क्रिकेटमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी पनि बनिन् । अघिल्लो दिन मात्र ईन्दु बर्माले ५५ रन जोड्दै अर्धशतकको किर्तिमान राखेकी थिइन् ।
नेपाली खेलाडीहरूले यसअघिका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अर्धशतक बनाइसकेको भए पनि टी-२० राष्ट्रको मान्यता पाएको थिएन । सन् २०१८ मा नेपालले सो मान्यता पाएको थियो । यसअघि ओपनर कविता कुँवरले ३१ रन बनाएर नेपाललाई गतिलो सुरुवात दिएकी थिइन् ।
हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको कतारले अहिलेसम्म जम्मा ४ वटा टी-२० क्रिकेट खेलेको छ । नेपालसँगको यो शृङ्खलापछि कतार महिला क्रिकेटले पनि टी-२० अन्तर्राष्ट्रिय वरीयतामा समावेश हुने बताइएको छ ।
एशिया छनोट प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि सुरु हुँदै छ । त्यहाँ नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईको सामना गर्नेछ । त्यसको शीर्ष टोली विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नका लागि छनोट हुनेछ ।
तस्बिर : क्युसीए क्रिकेट